पोखरा: कसैले मीठो कुरा गरेर जवानीसँग खेल्न खोज्दैछ भने होसियार हुनुहोस्। आफन्त, परिचितको भर परेर प्रलोभनमा फसेर तन, मन सुम्पिएमा जिन्दगीभर पछुताउनुपर्ला।

कास्कीको लेखनाथ नगरपालिका १८ भरतपोखरीकी २० वर्षीया एक युवती यतिखेर झूटो पिरतीकोपछि लाग्दा तीन महिने शिशुसँगै घर न घाटकी बनेकी छन्।पति वैदेशिक रोजगारीमा पुगेको बेला छिमेकी युवकको रमाइलो कुराको पछि लागेर जवानी सुम्पेकी उनी अहिले न्यायका लागि भौतारिँदै हिड्नु परेको छ।

पीडितका अनुसार भरतपोखरीकै २४ वर्षीय मदन लामिछानेले 'माया गर्छु, विवाह गर्छु' भन्दै बाचा गरेर गर्भवती बनाए पनि बच्चा जन्मेपछि अस्वीकार गरेपछि उनको बेहाल भएको हो।

'बेला बेलामा झगडा गरेर श्रीमान् घरमा कुटपिट गर्न आउँथे, ज्यान जोगाउन मदनको घरमा सहयोग माग्न जान्थे,' गर्भवती बनाउने युवकले बच्चा र सम्बन्ध अस्वीकार गरेपछि न्यायका लागि मंगलबार पोखरा आइपुगेकी उनले भनिन् 'मदनले पहिलाको श्रीमान्ले भन्दा धेरै माया गर्छु, विवाह गर्छु, सुखले पाल्छु भनेर लट्ठ पार्‍यो। तर अहिले आएर छोरा जन्मियो भन्दा मेरो होइन भन्छ।

बच्चा जन्मनुअघि विदेशमा गएको उसको अहिले मोबाइल अफ भएकोले सम्पर्क नै हुँदैन।' करिब एक महिनाअघि वैदेशिक रोजगारीमा पुगेका मदनसँग बच्चा जन्मिएको खबर गरेपछि सम्पर्क नभएको युवतीले बताइन्।

पीडित युवतीले घरपरिवारको दबाबमा युवकले आफूलाई अस्वीकार गरेको बताउँदै न्यायका लागि सहयोग गरिदिन महिला तथा बालबालिका कार्यालय कास्कीमा पुगेको दुःखेसो पोखिन् । पहिला १५ वर्षको उमेरमा भागेर विवाह गरेकी उनले डेढ वर्षकी छोरी हुँदा मदनसँगको सम्पर्कमा अर्को बच्चा जन्मिएको बताइन्।

'केटा र परिवारले अस्वीकार गरेकोले अहिलेसम्म बच्चाको न्वारान गर्न पाएकी छैन,' उनले भनिन्, 'प्रहरीकहाँ उजुरी दिएर मिलाउन खोज्दा पनि केटाका घरतिरकाले बेवास्ता गरेकाले नाता कायम गरी न्वारान गराई पाऊँ भनेर मुद्दा हाल्न महिला विकास कार्यालय आएकी हुँ।'

महिला विकास कार्यालय कास्की प्रमुख लक्ष्‍मी जिसीले पति वैदेशिक रोजगारीमा जाँदा केही महिला परपुरुषसँग लागेर विचल्‍लीमा परेका घटना बढ्‍न थालेको बताइन् ।

उनले १५ वर्षको उमेर भागेर प्रेम विवाह गरेका पति र परिवारले छाडिदिएको र अहिले झूटो पिरती गर्नेका परिवारले पनि स्वीकार नगर्दा घर न घाटको भएको पीडा सुनाइन्। शिशुको स्वास्थ्य कार्डमा बुबाको नाम लेख्न नमिल्ने भएकोले अहिलेसम्म बच्चालाई खोप नलगाएको उनले बताइन्। बच्चालाई खोप नलगाउँदा स्वास्थ्य जोखिममा परेको छ।

युवतीकी दिदी अमृताले मदनका परिवारले बेवास्ता गरेकाले नाता कायम गराई पाउन महिला विकास कार्यालयको सहयोग लिन आउनु परेको दुःखेसो पोखिन्। ‘बहिनीले बच्चा जन्माएको बारे केटाको घरमा कुरा गर्दा आलटाल गर्दै भागे,' उनले भनिन्, 'जति भने पनि कुरा नसुनेकोले मुद्दा हाल्न लागेका हौं।' उनले गाउँघरतिर सबैले हेला गरेकाले हिँडडुल गर्न समस्या भएको र मानसिक तनाव हुन खेप्नु परेको बताइन्।

महिला विकास कार्यालय कास्कीकी प्रमुख लक्ष्मीदेवी जिसीले लोग्ने वैदेशिक रोजागारीमा जाँदा केही महिला परपुरुषसँग लागेर बिच्चलीमा परेका घटना बढ्न थालेको बताइन्। उनले यस आर्थिक वर्षमा पुरुषद्वारा महिलामाथि उत्पीडन गरिएका २ सय ४ वटा घटना कार्यालयमा दर्ता भएका जानकारी दिइन्।

0 comments:

Post a Comment

 
Top